
भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । सिराहाबाट युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नम्बर-७ गण सिरकाको गस्ती टोलीले आज बिहान गोलबजार नगरपालिका–६, गुम्बाचोक नजिकैबाट सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको थियो । टोलीले पक्राउ गरेको यादव सुखीपुर नगरपालिका–७, सिसवा निवासी रहेको बताइएको छ ।
यादवको साथबाट २ लाख ८२ हजार ८ सय बराबरको कपडा र २ लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन् ।
अहिले भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ भने पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन् ।