
वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ । आजदेखि १५ दिनसम्म चल्ने सोह्र श्राद्धमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ ।
सोह्रश्राद्धमा पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यसलाई पितृ पक्ष समेत भन्ने गरिएको हो । हिन्दु शास्त्रीय परम्पराअनुसार चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने भएकाले सोह्रश्राद्ध गर्ने गरिएको धार्मिक मान्यता रहेको पईन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पितृहरूलाई प्रसन्न पार्न, जान अन्जानमा पितृहरूको अनादर भएको भए उनीहरूप्रति कृतज्ञता व्यक्त गरि क्षमा माग्नका लागि यो श्राद्ध गर्ने गरेको भनाइ रहेको छ ।
सोह्रश्राद्धमा बुवा स्वर्गीय भएकाहरुले कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्दछन भने स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास समेत रहेको छ ।