
नेपाली गीत–संगीतमा हरेक पुस्ताले आफ्नो समय, परिवेश र यथार्थलाई शब्द र लयमार्फत् अभिव्यक्त गर्ने परम्परा छ । यही परम्परालाई निरन्तरता दिँदै गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत “जमाना आजकल” हालै सार्वजनिक भएको छ । जसलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट अन्तर्राष्ट्रिय प्लेटफर्म मार्फत सार्वजनिक गरिएको हो ।
गीतले शीर्षककै झल्को दिने गरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा गाउँदेखि शहर, मौलिक लुगा–धारा, परम्परागत बाजा–गाजा र सामाजिक मूल्य–मान्यतामाथि परेका चुनौतीलाई चिरफार गरिएको छ ।
गीतलाई मनोज सङ्सोन राईले संगीत र एरेन्ज गरेका छन् । स्वरमा भने बिनुसा राई, स्वयं मनोज सङ्सोन राईसँगै सुरेश पायल राई, मैयाँ खडका र मीरा फियाकको साथ छ । गीतको भिडियो पनि छिट्टै सार्वजनिक हुने गीतकार खतिवडाले बताए । जसमा राहुल श्रेष्ठ, अस्मिता थापामगर, सहारा कोईराला लगायतको अभिनय, बृहश्मान सुनुवारको कोरियोग्राफी, छवि थापाको निर्देशन हुने भिडियोको कन्सेप्ट भने खतिवडाकै हुने बताए ।
“सोझो र सिधा मान्छेलाई लाटो पो भन्छन् हरे, कुटिल चाल रच्नेलाई बाठो पो भन्छन् हरे” भन्ने पंक्तिले गीतको गहिरो भाव प्रस्ट्याउँछ । सरलता र सत्यनिष्ठा हेपिने तर धूर्तता र चलाखीलाई प्रशंसा गर्ने वर्तमान मानसिकतामाथि गीतकारले सशक्त चोट हानेका छन् ।
संस्कृति, पहिरन र पहिचानको प्रश्नको भाव गीतमा पाईन्छ । गीतमा दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई फैशनले विस्थापित गरिरहेको विषय उठाइएको छ । “दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो” वा “गुन्यू चोली फरिया फेसनले डाँडो कटायो” भन्ने पंक्तिहरू केवल लुगाको कुरा मात्र होइनन्, बरु मौलिकता र पहिचानको संकटलाई प्रतिविम्बित गर्छन् ।
त्यस्तै, “ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैजडी र डम्फू हरायो” भन्ने शब्दले लोक वाद्य र संस्कृतिको हराउँदै गएको पीडालाई चित्रण गर्छ ।