
गएरातिदेखिकाे लगातारको भारी वर्षाका कारण भैरहवाकाे जनजीवन प्रभावित भएकाे छ । भैरहवा लगायत आसपासका क्षेत्रमा भारी वर्षाका कारण विभिन्न भाग डुबानमा भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइसँगै जनजीवन प्रभावित भएकाे हाे ।
वर्षाका कारण ठाउँठाउँमा पानी जमेको र सडकमा पानी भरिँदा पैदल यात्रु र सवारीसाधनलाई समस्या हुनुका साथै स्थानीय बासिन्दाका घर र पसलमा समेत पानी पसेको बताइएकाे छ । त्यस क्षेत्रकाे महत्त्वपूर्ण मानिने भीम अस्पताल परिसर डुबानमा पर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा पानी जमेकाले यात्रुहरूलाई असुविधा भएको छ । भारी वर्षाका कारण यातायात क्षेत्र समेत प्रभावित बनेको बताइएकाे छ ।
यता मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत्यकासहित बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।