
आउँदै गरेकाे दशैँ, तिहार, छठ लगायतकाे चाडपर्वलाई लक्षित गरि बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी खण्ड २४ सै घण्टा सञ्चालनमा ल्याइने भएकाे छ । यसअघि वर्षातका कारण क्षतिग्रस्त बनेपछि भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा राेक लगाइएकाे थियो ।
आजबाट उक्त सडकखण्डमा राति सवारी सञ्चालनमा लगाइएको रोक हटाएकाे जिल्ला सुरक्षा समितिले जनाएकाे छ । यसअघि यात्रुलाई जोखिम न्यूनीकरण गर्ने उद्देश्यले राती सवारी साधन सञ्चालनमा राेक लगाइएकाे थियो ।
जिल्ला सुरक्षा समितिको बैठकले सडक सुरक्षा सजगता अपनाई स्वीकृत सुरक्षा कार्ययोजना बमोजिम २४ सै घण्टा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचना अनुसार चाडपर्वमा यात्रुको सहज यात्राका लागि सडक २४ घण्टा सञ्चालन गरिने बताउँदै सम्भावित जोखिमका अवस्थाबारे सचेत रहन आग्रह गरिएकाे छ ।