Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

मौसम बदलीसँगै भारी वर्षाकाे सम्भावना सतर्क रहन आग्रह

०२ बिहिबार , आश्विन २०८२७ घण्टा अगाडि

मौसम बदलीसँगै भारी वर्षाकाे सम्भावना सतर्क रहन आग्रह

आज देशभरकाे माैसम बदली हुनुका साथै केहि स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले माैसम बदलीसँगै वर्षा भएकाे हाे ।

अहिले देशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ । विशेषगरी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरि आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाे बताइएको छ ।

महाशाखाले देशकाे विभिन्न स्थानमा हुने भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।