
नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा शान्ति सुरक्षाको लागि सरकारसँग माग गरेकाे छ । आज गृहमन्त्री ओमप्रकाश आर्यालसँग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले भेट गरि उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हाे ।
टोलीले गृहमन्त्री आर्यालसँग गृह मन्त्रालयमा भेट गरी मर्यादित रुपमा व्यवसायका लागि शान्ति सुरक्षा जरुरी रहेको बताउँदै त्यसका लागि सरकारले तत्काल ठोस कदम चाल्न आग्रह गरिएकाे थियाे । साथै निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकेकाले सरकारले सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइएकाे छ ।
अहिले कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनःनिर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले त्यसका लागि उद्योग वाणिज्य संघ मार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न पनि अध्यक्ष ढकालले मन्त्री अर्याल समक्ष आग्रह गरेका छन् ।
उक्त भेटमा गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताएका थिए ।


