
शुक्रबारदेखि लगातारकाे वर्षासँगै खसेकाे पहिराेले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउन पहिरो पन्छाउने काम भइरहेकाे छ । निरन्तर खसिरहेको पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौं यात्रु र सवारी साधन बाटोमै अलपत्र भएकाले सडक खुलाउन आज बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएकाे हाे ।
अहिले बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट दुईवटा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । अहिले सडक खुलाउन तीव्र गतिमा काम भइरहेको भएपनि ढुंगा खस्ने क्रम अझैसम्म नरोकिएकाले काममा केही चुनौती थपिएको बताइएकाे छ ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला छेउमा शुक्रबार रातिदेखि पहिरो खस्न सुरु भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएकाे थियाे । सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालयले थप पहिरो नखसे र काममा अवरोध नआए छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने जनाएको छ भने सडक खुलाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा कहिले खुल्छ भन्ने निश्चित नभएको बताएकाे छ ।


