Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

चाडपर्वलाई लक्षित गर्दै चार हजार बढी प्रहरी परिचालन

०५ आइतबार , आश्विन २०८२२ महिना अगाडि

चाडपर्वलाई लक्षित गर्दै चार हजार बढी प्रहरी परिचालन

नेपालीहरूकाे आउँदै गरेकाे पर्वहरू दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर प्रमुखको कमाण्डमा ४ हजार बढि प्रहरी परिचालन गरिने भएको छ । परिसरले प्रमुखको कमाण्डमा ४ हजार ७ सय ३८ जना प्रहरी परिचालन गर्ने भएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ उपत्यकामा चाडपर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन ४ प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

प्रवक्ता एवं प्रहरी उपरीक्षक बोहराले भने, “दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।”

काठमाडौँमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने तयारी रहेको जनाउँदै अहिले ३ ठाउँमा बल्खु, कङ्लकी र नयाँ बसपार्कमा सञ्चालन गरी ७२ जना जनशक्ति परिचालनमा रहेकाे पनि प्रवक्ता बोहराले जनााएका छन् । साथै, उनले पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसी बोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचालन गरिने बताएका छन् ।

चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिने बताउँदै त्यसका लागि क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ । दसैँमा लामो समयसम्म घर छाड्नेले विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।