
विगत एक महिनादेखि अवरुद्ध नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसेदेखि कोदारी खण्डका बिभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आउने भएको हो ।
उक्त सडक खण्डमा पहिरो पन्छाएर ग्राभेल हाल्ने काम भइरहेको र उक्त काम सकिएपछि सवारी सञ्चालनमा ल्याइने सडक डिभिजन कार्यालय, चरिकोटले जनाएको छ । उक्त सडक खुलाउन
चार वटा एस्काभेटर, ३ वटा लोडर, र ४० जना कामदार खटिएको बताइएको छ ।
हालै बनेको अन्तरिम सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएसंगै असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो ।


