
धादिङको बेनीघाटमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनीघाट रोराङ गाउँपालिका- १०, जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि राति फेरि ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले पनि पहिरो झर्ने क्रम नराेकिएकाले पहिरो पन्छाउन समस्या भएको बताइएकाे छ ।
बेनीघाट कटिसकेका सवारी साधनलाई भने मुग्लिन नारायणगढ सडकखण्डमा अवरोध नभएकाले सुरक्षाकर्मी परिचालन गरी सवारी आवगमन सहज बनाइरहेको बताइएकाे छ । सडक अवरुद्ध हुँदा रातिदेखि नै यात्रु बाटोमै अलपत्र परेका छन् ।
पहिरो पन्छाउन समय लाग्ने भएकाले धादिङको नौबिसे बाट मुगलिङतर्फ जाने सम्पूर्ण सवारी साधनलाई त्रिभुवन राजपथ हुँददै भैंसे, हेटौंडा पठाइएको छ भने साना सवारी साधनलाई हेटौंडाबाट भैंसे भीमफेदी, कुलेखानी, सिस्नेरी दक्षिणकालीको बाटो र ठूला सवारी साधनका लागि कान्ति लोकपथ हुँदै राजधानीतर्फ पठाइएकाे छ ।


