
चितवन जिल्लाकाे विभिन्न अस्पतालमा ६ जना औलो रोगका बिरामी भेटिएका छन् । गएकाे साउन महिनादेखि हालसम्म जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको हाे ।
जसमध्ये भरतपुर महानगरपालिकामा ३ जना, खैरहनी नगरपालिकामा २ जना र राप्ती नगरपालिकामा १ जनामा संक्रमण देखिएकाे जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएकाे छ । उक्त राेगबाट ३४ देखि ४४ वर्ष उमेर समूहका व्यक्तीहरू संक्रमित रहेकाे जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जनाएका छन् ।
प्रमुख रुपाखेतीका अनुसार रोजगारीका सिलसिलामा नेपालका विभिन्न जिल्ला तथा विदेशमा गएर फर्किएकामा सङ्क्रमण देखिएको बताइएकाे छ । भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हाे ।
चितवन जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो भने विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण देखिएको थिएन । पोथी लामखुट्टेकाे टाेकाइबाट औलो रोग सर्ने चिकित्सकहरू बताउँछन् ।


