
जेन-जी प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्न थालेका छन् । विभिन्न कारागारबाट भागेका ५ जना कैदीलाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौँमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई पक्राउ गरेकाे छ । बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको हाे । दुवै जनालाई ब्युरोको टोलीले आज काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको छ ।
त्यसैगरि नख्खु र झुम्का कारागारबाट भागेका तीन जना कैदीलाई सङ्खुवासभाबाट पक्राउ गरिएकाे छ । चैनपुर नगरपालिका-१० का ४१, वर्षीय नारायण राईलाई पक्राउ गरेकाे हाे । उनि चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
त्यसैगरि सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका-९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए ।
पक्राउ परेका तीनै जनालाई क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर राजन घिमिरेले जनाएका छन् ।


