
नेपालीहरूकाे महान पर्व बडादशैँकाे अवसरमा साझा यातायातले काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गरेकाे छ । दशैंको बेला यात्रुहरुको चापलाई मध्यनजर गर्दै असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।
काठमाडौं–नारायणगढसम्मको साझा यातायातले अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो भाडा ३ सय रुपैयाँ मात्र तोकेको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितले जानकारी दिएका छन् । साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने बताइएकाे छ ।
कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ भने त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने र नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।
यात्रा गर्दा यात्रुहरुले एकतर्फी भाडा ३ सय रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ भने यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ । संस्थाले साझा यातायातका यात्रुहरुलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न अनुराेध गर्दै अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुने जनाएकाे छ ।
साझा यातायातले यात्रुहरुले टिकट लिए/नलिएको वा बसवालाले टिकट दिए/नदिएकोबारे ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था मिलाइएको जनाएको छ ।


