
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको बीभत्स हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । जेनजी प्रदर्शनका क्रममा हाराजगन्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको बीभत्स हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल र काभ्रे घर भएका युवराज क्यापछाकी रहेका छन् । पौडेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले धापासीबाट नियन्त्रणमा लिएको बताइएको छ भने असोज ४ गते क्यापछाकीलाई पक्राउ गरि अदालतले अनुसन्धानका लागि १० दिनको म्याद दिएको छ ।
उक्त घटनाको भिडियो फुटेजमा राय छटपटाइरहेको अवस्थामा पौडेलले उनको अनुहारमा प्रहार गरी हत्या गरेको स्पष्ट देखिन्छ । सोही दिनको प्रदर्शनका क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्नुका साथै दुई जना प्रहरी असई राय र प्रहरी जवान उत्तम थापाको निर्मम हत्या गरेका थिए ।


