
गुल्मीमा गएराती चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका-५, झ्यानपानीमा राति २ बजे तिरको समयमा चट्याङ लाग्दा चार वर्षीया बालिका रियासा विकको मृत्यु भएको हो भने उनको बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार उनीहरु घरमा सुतिरहेको बेला चट्याङ लागेको बताइएको छ । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले बताएको छ ।


