Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

सी चिनफिङको उइगुर स्वायत्त प्रदेशको भ्रमण

प्रेमसागर पौडेल

१० शुक्रबार , आश्विन २०८२एक महिना अगाडि

सी चिनफिङको उइगुर स्वायत्त प्रदेशको भ्रमण

चीनका राष्ट्रपति सी चिनफिङ हालै शिञ्चियाङ उइगुर स्वायत्त प्रदेशको ७०औं स्थापना वार्षिकोत्सवमा सहभागी भई बेइजिङ फर्किएका छन्। यो भ्रमण केवल औपचारिकता वा सांस्कृतिक सहभागिता नभएर चिनियाँ राष्ट्रको दीर्घकालीन स्थायित्व, विकास र जातीय सहअस्तित्वको नीति सशक्त रूपमा पुनः पुष्टि गर्ने अवसर बनेको छ। राष्ट्रपतिको उपस्थिति, जनताको उत्साहजनक स्वागत, र समग्र कार्यक्रमले चीनभित्रको जातीय समावेशिता, स्थायित्व, तथा प्रगतिप्रति केन्द्र सरकारको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ।

शिञ्चियाङ चीनको उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित, ऊर्जा र व्यापारिक दृष्टिले रणनीतिक महत्त्व बोकेको स्वायत्त प्रदेश हो। यो भूगोल, इतिहास, सांस्कृतिक विविधता र आर्थिक सम्भावनाले भरिपूर्ण क्षेत्र हो। यहाँका प्रमुख जातीय समुदाय, विशेषतः उइगुरहरू, तुर्किक मूलका मुस्लिम छन्, जसको भाषा, धर्म र संस्कृति चीनभित्रको जातीय विविधताको जीवन्त उदाहरण हो। शिञ्चियाङको महत्व चीनको राष्ट्र निर्माण, आन्तरिक सुरक्षा र अन्तर्राष्ट्रिय रणनीतिमा अत्यन्तै केन्द्रीय स्थानमा रहेको छ।

राष्ट्रपति सी चिनफिङको भ्रमण विशेषरूपमा महत्त्वपूर्ण रह्यो, किनकि यसले केन्द्रीय सरकार र स्थानीय समुदायबीचको गहिरो सम्बन्धको सन्देश दिएको छ। राजधानी उरुम्चीमा आयोजित स्वागत समारोहमा हजारौं जनताको सहभागिता, रातो झन्डा लहराउँदै गरिएको स्वागत, परम्परागत नृत्य–गीत, र समुदायको उत्साहपूर्ण सहभागिताले चीनको ‘राष्ट्रिय एकता र विविधताको सौन्दर्य’ विश्वसमक्ष प्रदर्शन गर्‍यो।

राष्ट्रपति सीको उपस्थितिले केवल उत्सवको औपचारिकता पुरा गरेन, उनले त्यस अवसरमा वाङ हु निङको नेतृत्वमा केन्द्रीय प्रतिनिधिमण्डल गठन गरि विभिन्न स्थानहरूमा पठाउने निर्णय गरे। यो प्रतिनिधिमण्डलले शिञ्चियाङका सबै जातीय समूह, सामाजिक क्षेत्रका व्यक्तित्वहरूसँग संवाद गर्दै केन्द्रीय सरकारको शुभकामना तथा नीति सन्देश पुर्‍याउनेछ। चीनको ‘जनसम्बन्धमा आधारित शासन’ ९ःबकक ीष्लभ न्यखभचलबलअभ० को यही उदाहरणले जनतालाई केन्द्रमा राखेर नीति बनाउने चिनियाँ अभ्यासलाई थप पुष्टि गर्दछ।

पछिल्ला केही वर्षमा केही पश्चिमी राष्ट्रहरूले शिञ्चियाङको विषयलाई लिएर चीनमाथि अनावश्यक र आधारहीन आलोचना गर्दै आएका छन्। उनीहरूले मानव अधिकार, धार्मिक स्वतन्त्रता र पुनःशिक्षा केन्द्रहरूलाई आधार बनाई चीनमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन्। तर, चीनको दृष्टिमा शिञ्चियाङमा गरिएका सुरक्षा तथा समावेशी विकास कार्यक्रमहरू आतंकवाद, पृथकतावाद र चरमपन्थविरुद्धको दीर्घकालीन समाधान हुन्। राष्ट्रपतिको भ्रमणले चीनको आन्तरिक नीति स्वाधीन र स्पष्ट रहेको सन्देश दिएको छ।

शिञ्चियाङमा विकासका ठूला पूर्वाधार परियोजनाहरू, शिक्षा, रोजगार, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, र धार्मिक संस्थाहरूको संरक्षणका कार्यक्रमहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्। यिनले स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। राष्ट्रपति सी चिनफिङले पटकपटक ‘सामूहिक समृद्धि’ ९ऋयmmयल एचयकउभचष्तथ० लाई राष्ट्रिय लक्ष्य बनाउँदै आएका छन्, र शिञ्चियाङमा यसको सफल अभ्यास भइरहेको छ।

अर्कोतर्फ, शिञ्चियाङ चीनको बेल्ट एन्ड रोड इनिसियटिभ ९द्यच्क्ष्० को मेरुदण्ड हो। चीनबाट मध्य एशिया, युरोप, र पश्चिम एसियासम्म जोडिने व्यापारिक रेल, सडक र पाइपलाइनहरू यही क्षेत्रबाट गुज्रन्छन्। शिञ्चियाङको स्थायित्व, विकास र एकता नहुँदा यी सबै परियोजनाहरू संकटमा पर्न सक्थे। त्यसैले पनि राष्ट्रपति सीको भ्रमण विकास, सुरक्षा र सहअस्तित्वको रणनीतिक त्रिकोणमा आधारित देखिन्छ।

शिञ्चियाङ केवल चीनको एक क्षेत्र मात्र होइन, यो चिनियाँ राष्ट्रवादको साँस्कृतिक र राजनीतिक अभिव्यक्तिको पनि केन्द्र हो। यहाँका सबै जातीय समुदायहरूलाई ‘चिनियाँ राष्ट्रको साझा परिवार’मा समाहित गर्ने नीति, जसलाई ‘चाइना मोडल अफ एथनिक गभर्नेन्स’ भनिन्छ, आज विश्वमा बहुजातीय राष्ट्रहरूका लागि अध्ययनको विषय बन्दै गएको छ।

पश्चिमी देशहरूले शिञ्चियाङप्रति अपनाएको दृष्टिकोण एकतर्फी, पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको चीनको भनाइ छ। पश्चिमी मिडिया र एनजीओहरूले प्रस्तुत गर्ने एकपक्षीय सूचना र तथ्याङ्कहरू वास्तवमा शिञ्चियाङमा भइरहेको परिवर्तन, स्थायित्व र सहकार्यलाई छायाँमा पार्ने प्रयास हुन्। राष्ट्रपति सीको भ्रमण र शिञ्चियाङका जनताको साथले विश्वलाई स्पष्ट सन्देश दिएको छ कि चीनले आफ्नो राष्ट्रिय एकता, जातीय समावेशिता, धार्मिक स्वतन्त्रता र सुरक्षा सन्तुलनलाई उच्च प्राथमिकता दिएको छ।

शिञ्चियाङका उइगुर, हान, हुइ, काजक, ताजिक, मंगोल, सिबो, मन्चु, र अन्य जातीय समूहहरू आज चीनको साझा समृद्धि यात्रामा काँधमा काँध मिलाएर अघि बढिरहेका छन्। उनीहरूको भाषा, संस्कृति, धार्मिक स्थलहरू संरक्षित छन्। उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरूमा विशेष प्राथमिकता दिइएको छ। यसले चीनको ‘एक राष्ट्र–बहुजाति’ मोडलको व्यवहारिक सफलता प्रमाणित गरेको छ।

अन्ततः, राष्ट्रपति सी चिनफिङको शिञ्चियाङ भ्रमण चीनको स्थायित्व, विकास र समावेशितामूलक शासनप्रतिको गहिरो प्रतिबद्धताको प्रतिक हो। यसले चीनभित्रको जातीय विविधता र राष्ट्रिय एकता बीचको समन्वयलाई थप बलियो बनाएको छ। शिञ्चियाङ अब केवल सुरक्षा र विकासको विषय मात्र होइन, चीनको भविष्यको ‘पश्चिमी गेटवे’ बन्ने दिशामा अघि बढेको छ।

चीनले संसारलाई सन्देश दिएको छ कि राष्ट्रिय एकता, जातीय सहअस्तित्व, विकास र शान्तिको मार्गमा अघि बढ्न चाहने कुनै पनि मुलुकका लागि चीनको अनुभव, नीति र नेतृत्व प्रेरणाको स्रोत बन्न सक्छ। राष्ट्रपति सी चिनफिङको यो भ्रमण, त्यसैको प्रमाण हो।ः
लेखकस् प्रेमसागर पौडेल नेपालका वरिष्ठ पत्रकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुन्। उनले नेपाल–चीन सम्बन्ध, हिमाली क्षेत्रको भूराजनीति र एसियाली सुरक्षाका विषयमा गहिरो अध्ययन गरेका छन्। उनी नेपाल–चीन पारस्परिक सहयोग संस्थाका अध्यक्ष पनि हुन् ।