
नेपालले टी–२० विश्वकप च्याम्पियन टोली इन्डिजलाई हराएकाे छ । गएराति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित निकालेकाे हाे ।
यसअघि वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो भने याे जितसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ । गएरातिकाे जित नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट टोलीलाई हराउन सफल भएको हो ।
यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ । जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सफल भएकाे थियाे ।
वेस्ट इन्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए भने ओपनर काइल मेयर्स ५ रनमै रन आउट भएका थिए । कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए भने जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिएका थिए ।युएइकाे शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाउँदा ओपनर कुशल भुर्तेल ६ र आसिफ शेख ३ रनमा आउट भएका थिए । नेपालकाे लागि तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफल दिएका थिए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडेका थिए ।
गुलशन झाले १६ बलमा २ छक्कासहित २२ रन जोड्दा टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भएका थिए । सन्दीप जोरा ९ र करण केसी डक आउट हुँदा १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।
वेस्ट इन्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए भने नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान अकिल हुसेनले १ विकेट लिएका थिए ।
अब नेपालले दोस्रो खेल भाेलि सोमबार र तेस्रो खेल पर्सि मंगलबार खेल्ने तालिका रहेकाे छ ।


