Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

आज घरघरमा फूलपाती भित्र्याइँदै

१३ सोमबार , आश्विन २०८२४ दिन अगाडि

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज बडा दशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती भित्राउने यो परम्पराले दशैंलाई अझै विशेष बनाउने गरेकाे छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपातीमा नौवटी देवीको प्रतीकको रूपमा नवपालुवाहरूलाई भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधना गरिने परम्परा समेत रहेकाे पाइन्छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिन्छ । यस वर्षको फूलपाती अपराह्न हनुमानढोकामा भित्र्याइने तयारी रहेकाे छ भने फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंको चहलपहल आजदेखि अझ तीव्र हुने गर्दछ । आजदेखि सरकारी कार्यालयहरू पनि बिदा हुने भएकाले दशैँ मनाउन सबै आ–आफ्नो घर फर्कन व्यस्थ हुने गरेकाे पाइन्छ ।

काठमाडाैँमा रहेकाहरू सबै दशैँ मनाउन गाउँ फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । सधैं व्यस्त रहने सडकहरूमा गाडीको संख्या पातलिंदै गएको छ भने गाउँघरमा  लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ ।