
आज देशभरकाे माैसम सामान्यतया बदली हुनुका साथै केहि स्थानमा भारी वर्षाकाे समेत सम्भावना रहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहेकाे भएता पनि स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको हाे ।
महाशाखाका अनुसार दिउँसो देशभरका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने बताइएकाे छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहानैदेखि राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने दसैँ मनाउन घर निस्केका सर्वसाधारणलाई मौसमको यो परिवर्तनले केही असहज बनाएको छ ।
आज राति गण्डकी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनुका साथै बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ भने गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।