
आज बडादशैंकाे आठौं दिन महाअष्टमी पर्व नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइँदै छ । आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा समेत रहेकाे छ ।
अष्टमीकाे दिन कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिने गर्दछन भने सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्ने परम्परा समेत रहेकाे छ । यसैगरी दशैंघर हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिइन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा समेत गरिन्छ ।
महाअष्टमीका दिन पञ्चबलि दिने प्रचलन अनुसार पञ्च बलिमा बोका, रागाँ, परेवा, हाँस र भेंडाकाे बलि दिने गरिन्छ । तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृतिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख भए अनुसार पशुत्व भाव हटाउन पञ्च बलिको प्रतिकात्मक उपाय निकालिएको कतिपयको भनाइ छ ।
नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो भने त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
यसरी नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।