
मलेसियामा जारी अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आजकाे दोस्रो खेलमा नेपालले मलेसियालाई हराएकाे छ । क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ विकेटले हराएकाे हाे ।
यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन रनले पराजित भएको थियो । आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे थियाे ।
नेपालकाे तर्फबाट पूजा महतोले सर्वाधिक ३९ रन बनाउँदा कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहेकि थिइन भने रुबी पोद्दारले १५ रन बनाउन सफल भएकि थिइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिएकि थिइन ।
‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् भने कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।
त्यस्तै नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिन सफल भएका थिए । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।


