
निरन्तरकाे बर्षासँगै खसेकाे पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा ल्याइएकाे छ । तुइन खोला र काली खोलामा खसेको पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा ल्याइएकाे हाे ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडक खण्ड पुनः सञ्चालनमा आए पनि तनहुँ, गोरखा र पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनलाई मात्र बाटोमा पठाइएको छ । त्यस्तै बाटो खुलेपछि मुग्लिनमा रोकिएका सवारी साधनहरू पनि भरतपुरतर्फ जान थालेका छन् ।
यता तनहुँमा एकतर्फी बाटो खुला भएकाले पोखरा जाने ठूला यात्रुबाहक बस चितवनमै रोकिएका छन् । प्रहरीले लेन अनुशासन पालना गर्दै रोकिएका सवारीहरू होल्डिङ सेन्टरमै राख्न आग्रह गरेको छ भने अत्यावश्यक बाहेक पोखरातर्फको यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
यसअघि चितवन प्रशासनले जोखिमलाई ध्यानमा गर्दै हिजो साँझ ६ बजेदेखि चितवनबाट बाहिरिने र भित्रिने सवारी पूर्ण रूपमा बन्द गरेको थियो । यता धादिङको ज्यामिरेघाटमा पहिरो खसेपछि बाटो बन्द भएकाले धादिङ र काठमाडौं जाने सवारी पूर्ण रूपमा रोकिएका छन् ।


