
दार्चुलामा हिँजाे साँझ भएको एक जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा परी महाकाली नगरपालिका–६ का २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको हाे ।
महाकाली नगरपालिका-६, स्थित भित्री सडकखण्डमा बागमती प्रदेश ०३-००१ ज ०२०६ नम्बरको जिप दुर्घटना भएकाे हाे । उक्त जिप दुर्घटनामा गम्भीर घाइते भएका पालको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन् । उनका अनुसार घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
दुर्घटनामा सामान्य घाइते भएकाहरूलाई उपचारपश्चात् डिस्चार्ज गरिएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


