
सोलुखुम्बु क्षेत्रमा यसवर्ष असोजको तेस्रो हिमपात भएसँगै जनजिवन प्रभावित भएकाे छ । सगरमाथा क्षेत्रमा शरद् ऋतुको आगमनसँगै पर्यटकीय चहलपहल बढ्नुपर्ने बेलामा भारी हिमपात भएसँगै जनजिवन प्रभावित भएकाे हाे ।
यस वर्ष असोज महिनामै हिउँ पर्नुलाइ असामान्य मौसमी घटनाले जलवायु परिवर्तनको गम्भीर सङ्केत दिएको वातावरणविद्हरू बताउँछन् । त्यस्तै खुम्बु क्षेत्रमा असोज महिनामा हिउँ पर्नुलाई दुर्लभ समेत मानिन्छ ।
केहि दिन अघि सुरु भएको भारी वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र पूरै सेताम्य बनेको छ । आइतबारको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रका छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले जनाएका छन् ।
असोज २० गते बिहान मौसम खुलेर केही हिउँ पग्लिए पनि चिसोका कारण जनजीवन खुम्बुको जनजीवन निकै प्रभावित भएको हाे । नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले दिङ्बोचे क्षेत्रका पाँच वटा होटलका संरचना हिमपातको भार सहन नसकी भास्सिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरका अनुसार जस्तासहितका छानाको संरचना भत्किँदा ठूलो आर्थिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।
खुम्बु क्षेत्रमा सामान्यतया मङ्सिरदेखि माघसम्म मात्र बाक्लो हिमपात हुने गर्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष लामाकाजी शेर्पाले असोजमै हिउँ पर्नुलाई जलवायु परिवर्तनको स्पष्ट सङ्केतका रूपमा लिएका छन् ।


