
अहिले देशबाट मनसुन बिस्तारै बाहिरिएसँगै पश्चिमी वायु सक्रिय हुँदा तापक्रममा गिरावट आएर देशभर चिसो बढ्न थालेको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
गण्डकी प्रदेशदेखि पश्चिमका अधिकांश भूभागबाट मनसुन हटिसकेको भएपनि सुदूरपश्चिम, कर्णालीका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको महाशाखाले उल्लेख गरेकाे छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार अब बिस्तारै तापक्रम कम हुने र बिहान-बिहान हल्का चिसो महसुस हुनका साथै दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो बढ्ने बताइएकाे छ ।
यसअघि २१ डिग्री सेल्सियस रहेकाे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ । अब तापक्रम क्रमिक रूपमा घट्दै जाने पनि मौसमविद् लामिछानेले जनाएका छन् ।


