
ओमानमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपाल विजयी भएकाे छ । अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएकाे हाे ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनाएकाे थियाे । कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाउँदा पाँचौं नम्बरका ब्याटर यासिन पटेलले १९ र तेस्रो नम्बरमा आएका मीत भाब्सारले ११ रन जोडेका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई–दुई विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक–एक विकेट लिन सफल भएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । ओपनर भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।