
आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयानुसार दिउँसाे सवा ४ बजे हुने खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी (युनाइटेड अरब इमिरेट्स) युएईसँग खेल्न लागेकाे हाे । नेपाल र युएई दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई समेत हराइसकेका छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा पुगेकाे हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यता युएई पनि समूह चरणका दुवै खेलमा जितेर सुपर–६ मा पुगेको हो । समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो भने दाेश्राे खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
अब नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिम युएई, कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ । यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थानमा पुग्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा खेल्ने छन् ।