
पर्सा जिल्लाको १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । खोप अभियान असोज २६ देखि आगामी कात्तिक २ गतेसम्म हुने भएको हो ।
पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए । स्वास्थ्य कार्यालय पर्साले हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्ला स्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा अभियान सञ्चालन गर्ने बताएको छ ।
आजदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जय मोद ठाकुरले बताएका छन् । उक्त खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १ सय मात्रा खोप पर्सा र बारामा पठाएको जनाएको छ ।
यस खोप अभियानमा एक वर्ष भन्दामाथि उमेर समूहका सबैलाई एक पटक खोप दिइनेछ भने यो मुखबाट खुवाइने खोप रहेको र यो खोप सुरक्षित रहेको महाशाखाले जनाएको छ ।