
धनकुटामा भएकाे ट्रक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउपालिका–९, पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका छन् ।
गएराति प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९, कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्काको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते उनलाई प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
उक्त दुर्घटनामा चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएकाे बताइएकाे छ । धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएकाे छ ।