
यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।
कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुने र त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । त्यस्तै कात्तिक २ गते आइतबार काग तिहार परेको छ भने यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । त्यसैगरी कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
यसवर्ष कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको छ भने गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने समितिले जनाएको छ । साथै यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ ।
त्यसैगरी शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।