
काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ र जारको पानी ४७ रुपैयाँ भन्दा बढी लिन नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको मूल्य निर्धारण गर्दै बढी पैसामा बेचे कारबाही गर्ने जनाएको छ ।
विभागले एक सूचना प्रकाशित गर्दै दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो ।
त्यसैगरी विभागले काठमाडौँ उपत्यका बाहिरको लागि एक लिटर बोतलको पानी २० निर्धारण गरेको छ भने २० लिटर जारको पानीको ६० रुपैयाँ निर्धारण गरेको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बेच्दै आएका थिए ।
विभागले सूचनामार्फत तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बेचेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने जनाएको छ । साथै, विक्रेताले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेचेको पाइए विभाग वा मातहतका कार्यालयमा सूचना दिन आमसर्वसाधारणमा अनुरोध गरिएको छ ।