
पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्यले आज नेपाली बजारमा तोलाको साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय पुगेको हो ।
नेपाली बजारमा आजको सुनको मूल्य हालसम्मकै उच्च हो । हिँजो बुधबार प्रति तोला सुन २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ हजारले बढेको छ ।
त्यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको पनि मूल्य वृद्धि भएको छ । आज एक तोला चाँदी ३ हजार २ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । हिँजो बुधबार प्रति तोला चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।