
कञ्चनपुरमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हाे ।
सूचनाअनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकिएको छ । गत साउन २६ गते बसेकाे नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको बताइएकाे छ ।
पालिका क्षेत्रभित्र निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहलाई निर्देशन दिँदै कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरूलाई तोकिएको मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ । यता अहिले जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेको बेला समर्थन मूल्य समयमा नै निर्धारण गरिएको भन्दै किसानले त्यसकाे स्वागत गरेका छन् ।