
नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारमा पौने १३ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री गरेकाे छ । राष्ट्र बैंकले तिहारमा मात्रै करिब ४१ हजार थान चाँदीका सिक्का बिक्री गरेकाे हाे ।
यस वर्षको तिहारमा गुणस्तरीय (९९९.९९ टच) सुन नभएको भन्दै असर्फी बिक्री नगरेको राष्ट्र बैंकले चाँदीका सिक्का मात्र वितरण गरेको थियो । राष्ट्र बैंकले १०/१० ग्रामका सिक्का मात्र वितरण गरेको थियो ।
हरेक दिन चाँदीको बजार भाउअनुसार राष्ट्र बैंकले सो दिनको सिक्काको मूल्य तय गर्दै आएको थियो भने प्रतिदिन प्रतिथान सिक्काको मूल्य फरक फरक रुपैयाँमा बिक्री गरेकाे थियो । जसअनुसार यसवर्ष प्रतिथान ३ हजारदेखि ३ हजार ३ सयसम्ममा सिक्का बिक्री भएको थियो ।
राष्ट्र बैंकले बिक्री गरेकाे सिक्काकाे औसतमा प्रतिसिक्का ३ हजार १ सयका दरले हिसाब गर्दा करिब पौने १३ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री भएको बताइएको छ । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने समेत राष्ट्र बैंकले जनाएको छ ।
यस वर्ष राष्ट्र बैंकले एक व्यक्तिलाई चार थान चाँदीका सिक्का उपलब्ध गराइएको थियाे । चाँदीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक गरिएको थियो ।