
नेपालीहरूकाे दोस्रो ठूलो चाड तिहार भित्रिएसँगै झण्डै ४५ हजारले काठमाडौँ उपत्यका छाेडेका छन् । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका उनिहरू आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको पनि ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तिहार सुरु भएसँगै काठमाडौँका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।
अहिले नागढुङ्गा नाका सबैभन्दा व्यस्त देखिएको छ भने सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । त्यस्तै थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।


