
मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि प्रहरीले बरामद गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँको टोखा नगरपालिका-५ बसुन्धारा स्थित तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर बरामद गरेकाे हाे ।
प्रहरीले बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।
उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गरेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार औषधि व्यवस्था विभागसँग समन्वय गर्दा उक्त औषधि मापदण्डविपरीत बिक्री गरिएको पाइएको छ ।


