
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरि महसुल नतिर्ने २५ उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कुल २५ उद्योगको विद्युत्को लाइन काटेको हाे ।
यसअघि प्राधिकरणले पूर्वसूचना गरि २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको थियो । प्राधिकरणले दिएकाे उक्त अवधिमा सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको जनाएको छ ।
प्राधिकरणले गएकाे मंगलबार मुख्य ठूला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको बताइएकाे छ । शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन् । त्यसैगरि एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ ।
त्यस्तै घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्टकाे पनि लाइन काटिएकाे छ । यता एभेरस्ट पेपर मिल्सले भने नियमित विद्युत् महसुल भुक्तानी नै नगरेकाले यसअघि नै लाइन काटिएको प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले गएकाे मङ्गलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो । उक्त ६ उद्योगको मात्रै करिब चार अर्ब ३० करोड रुपियाँ असुल बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यस अघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको छैन । यसअघि प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचनामार्फत सञ्चालक समितिको निर्णय अनुसार बक्यौता रकम किस्तामा तिर्न आउन आह्वान गरको थियो।


