
राष्ट्रपति रामचन्द्र पौडेल गुह्येश्वरी पुगेर छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपतिले गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् ।
देशकाे विभिन्न भागमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेकाेमा यस वर्ष राष्ट्रपति गुह्येश्वरीमा मात्रै गएका हुन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा समेत मनाउने गरिन्छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका लगायत विभिन्न स्थानका छठ घाट भव्य रूपमा सजाइएको छ ।
त्यस्तै आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु भाेलि बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्ने र बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व समापन गरिन्छ ।


