
मौसममा आएको खराबीका कारण हवाई उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकाे हाे ।
आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ भएका छन भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जनाएका छन् । यता पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ ।
त्यस्तै अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको छ भने एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको शेर्पाले उल्लेख गरेका छन् ।
अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी २ हजार ५ सय मिटर रहेको पनि प्रवक्ता शेर्पाले बताएका छन् भने इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्यसैगरि आजदेखि कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


