
काठमाडौं महानगरपालिका भित्रका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिने अल्टिमेटम जारी गरेको छ । महानगरले आज एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सम्बन्धित व्यक्ति र निकायलाई स्वेच्छाले ती संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हाे ।
गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेकाे थियाे । साेहि अनुसार महानगरले सूचना जारी गरेर अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन आग्रह गर्दै तोकिएको समयभित्र अटेर गरेमा महानगर आफैं कारबाहीमा उत्रिने चेतावनीसमेत दिइएको छ ।
महानगरपालिकाकाे आज जारी सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ ।’ महानगरले विशेषगरी सडक पेटी, सार्वजनिक जग्गा र नदी किनारमा बनेका अनधिकृत संरचनाहरू यस कारबाहीको मुख्य निसानामा पारेकाे छ ।
महानगरले यसअघि पनि यस्ता प्रयासहरू गरेकाेमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक महानगरपालिकासँगै उपत्यका विकास प्राधिकरणको सहकार्यले कारबाही सशक्त हुने देखिएको छ ।


