
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिराेले सडक अवरुद्ध भएकाे छ । उक्त सडकखण्डको तुईन खोला पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हाे ।
तुईन खोला पुल नजिकै अहिले पनि ढुंगा झर्ने क्रम नरोकिएकाले सडक अवरुद्ध भएकाे छ भने पहिरो खस्न रोकिए पछि मात्र हटाउने कार्य शुरु हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
त्यसैगरि निरन्तरकाे वर्षा र पहिराेका कारण कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।
यता पहिरोले अवरुद्ध जोमसोम–कोरोला सडकखण्ड, म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।


