
गृह मन्त्रालयले भिजिट भिसामा विदेश यात्रा गर्न नयाँ नियम लागू गर्दै पुरानाे ६ बुँदे मापदण्ड खारेज गरेको छ । नयाँ व्यवस्था अनुसार अब ६ महिनाभन्दा बढी अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा मार्फत भिजिट भिसामा विदेश यात्रा गर्न सकिने भएकाे छ ।
अध्यागमन विभागको सिफारिसमा गृहमन्त्री ओमप्रकाश अर्यालले हिँजाे बिहीबारदेखि नयाँ मापदण्ड लागू गरेका हुन् । यसअघि होटेल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण, ५ सय डलर अनिवार्य साथमा हुनुपर्ने लगायतका ६ बुँदे मापदण्डमा लागू गरिएको थियाे ।
जसका कारण अनेक कागजात जुटाउन बिचौलिया प्रयोग गर्नुपरेको गुनासो सहित अव्यवहारिक भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदे आएकाे थियाे । अहिलेकाे नयाँ नियमाले भिजिट भिसामा विदेश जान चाहनेहरूलाई सहजता बनाउनुका साथै दलाल तथा बिचौलियाद्वारा हुने आर्थिक शोषण राेकिने बताइएकाे छ ।
यसअघि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले २०७८ सालमा भिजिट भिसा सम्बन्धी १७ बुँदे कडा मापदण्ड जारी गरेकाे र त्यसमा करयोग्य आम्दानी, बैंक मौज्दात, अध्ययन, अंग्रेजी ज्ञान, विदेश भ्रमण अनुभवजस्ता मापदण्डसमेत समावेश गरिएकाे थियाे । पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा उक्त मापदण्ड संशोधन गरी ६ बुँदे बनाइएको थियो ।
अहिलेकाे नयाँ मापदण्डले विभेदकारी प्रावधान हटाएर नयाँ खुकुला ४ बुँदे मापदण्ड लागू गरेसँगै भिजिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने र भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अधिकारीहरू बताउँछन् ।


