
बंगालको खाडीबाट आएको ‘मोन्था’ चक्रवात नेपालको आकाशबाट बाहिरिएकाे छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार माेन्था बाहिरिसँगै यसको प्रत्यक्ष असर अब नरहेको हाे ।
यत देशभर पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभावका कारण मौसममा उल्लेख्य परिवर्तन आएको छ । आज बिहानैदेखि देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएकाे छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली हुनुका साथै मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।


