
गुल्मीकाे मालिका गाउँपालिकामा छोराले बाबुकाे हत्या गरेका छन् । मालिका–३, म्यालका २३ वर्षीय भोटबहादुर विकले धारिलो हतियार प्रहार गरी ५२ वर्षीय बुबा धनबहादुरको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार भोटबहादुरले बुबाकाे हत्या गर्नुका साथै ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएकाे बताइएकाे छ ।
धारिलो हरियार प्रहारबाट धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने दिलमायाको टाउकोमा गम्भीर चोट लागेको र गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएकाे र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


