
राहदानी विभागले सार्वजनिक बिदाको दिन बाहेक दैनिक एक हजार थान राहदानी वितरण गर्ने जनाएकाे छ । विभागले आज सोमबार साँझदेखि दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको हाे ।
विभागले यसअघि विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको छ । विभागले आज जारी विज्ञप्ति अनुसार नयाँ आपूर्तिकर्तासँगकाे सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको बताइएकाे छ ।
यता नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्थामा राहदानीकाे सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागका कारण राहदानी वितरणमा केही समस्या हुने जनाउँदे विभागले उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन सबैलाई आग्रह गरेको छ ।
त्यसैगरि राहदानीका विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले सम्वन्धित सबैकाे ध्यानाकर्षण गराएको छ ।


