
आगामी फागुन पहिलो साता दसौँ राष्ट्रिय खेलकुद हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले उक्त निर्णय गरेकाे हाे ।
बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी फागुन १ गतेदेखि ७ गतेसम्म हुने निर्णय गरेको हो । त्यसैगरि बोर्ड बैठकले नेपाललाई पहिलो अन्तरराष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद् सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरि लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, संघ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतका निर्णय बैठकले गरेको छ ।
सचिव टङ्कलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।


