
त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकमको पहिलो किस्ता बुझाएसंगै विद्युत लाइन जडान गरिएको छ । लामो समयदेखि विद्युत महसुल विवादमा अल्झिएको उक्त उद्योगको ४ कात्तिकमा काटिएको विद्युत लाइन बिहीबार साँझ पुन: जडान भएको हो ।
बारा-पर्सा औद्योगिक करिडोरमा रहेको यस उद्योगले लोडसेडिङको समय (२०७२ माघदेखि २०७५ वैशाखसम्म) डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।
उद्योगमाथि कुल ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेकोमा यसमध्ये त्रिवेणी सिन्थेटिकले बिहीबार १५ लाख ७१ हजार रुपैयाँको पहिलो किस्ता बुझाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जनाएका छन् ।
त्रिवेणी सिन्थेटिकको यो बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ । यसअघि रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेसँगै उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको थियो ।


