Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महानगरद्वारा प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक

२४ आइतबार , कार्तिक २०८२९ महिना अगाडि

महानगरद्वारा प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक

काठमाडौं महानगरपालिकाले प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ । महानगरले एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको हाे ।

चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा त्यस्ता वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।

काठमाडौं उपत्यकाको वायु प्रदूषण जाडो महिनामा अत्यधिक बढ्ने गरेकाले महानगरले सूचना जारी गरेर त्यस्ता गतिविधि नगर्न अनुराेध गरेकाे हाे । विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको बताइएकाे छ ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने महानगरको भनाइ छ । 

महानगरले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने पनि विभागकी प्रमुख राईले बताएकि छन् ।