
कोशी प्रदेशलाई गाईभैँसी तथा चौपायामा लाग्ने राेग खोरेत राेग मुक्त बनाउन निःशुल्क खोप लगाउने अभियान सुरू गरिएकाे छ । कोशी प्रदेशकाे विराटनगरबाट निःशुल्क खोप अभियान सुरू गरिएकाे हाे ।
आजदेखि विराटनगर महानगरपालिकाको आयोजनामा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ सुरु गरिएको हो ।
आर्थिक विकास समितिका संयोजक वडा नं १९ का वडा अध्यक्ष श्याम घिमिरेको अध्यक्षतामा सुरु गरिएको उक्त अभियान सफल बनाउन सम्बद्ध क्षेत्रका विज्ञ तथा अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । अभियानअन्तर्गत पहिलो चरणमा विराटनगर महानगरपालिकाभित्रका २१ हजार ६०० गाईभैँसीलाई खोप दिइसकेपछि क्रमशः सबै जिल्ला हुँदै कोशी प्रदेशस्थित १३७ वटै पालिकाका पशुचौपायालाई खोप दिने कार्यक्रम रहेको छ ।
यसअघि इलाम जिल्लालाई खोरेतमुक्त घोषणा गरिएको छ भने अब झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारीका साथ अभियान अघि बढाइएको हाे । कोशी प्रदेश सरकारको उक्त अभियानलाई सफल बनाउन सम्बद्ध सबैसँग प्रदेश सरकारले अनुरोध गरेको छ ।


